नवलपुर, भदौ २७
पूर्वी नवलपरासीको हुप्सेकोट ६ पेलेगास्थित घाँगी भिरबाट बारुदको जस्तो गन्ध आउने धुँवाको मुस्लो निस्किरहेको विषय सँसददेखि सरकारसम्म पुगेको छ । गत भाद्र २६ गतेको प्रतिनिधि सभा सँसद वैठकमा नवलपुर क्षेत्र नँ १ का साँसद राजन गौतमले सुन्य समयमा वोल्नुहुँदै विषय उठान गरेपछि सो विषय सरकारसम्म पुगेको हो ।
पेलेगा गाँउबाट करिव पाँच सय मिटर दक्षिण पश्चिममा रहेको घाँगी भिरबाट निरन्तर धुँवाको मुस्लो निस्किरहेको छ ।
लामो समयदेखि यसरी धुँवा निस्कन थालेपछि स्थानीयहरु त्रसित भएका छन् । जिल्ला प्रहरी नवलपुरले पनि त्यसको अनुगमन गरिसकेको छ । प्रहरी टोलीले लामो समयदेखि धुँवा निस्किरहेको र त्यसको गन्ध बारुदको जस्तो भएको निष्कर्ष निकालेको नवलपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।
‘‘हामीले निरीक्षण ग¥यौँ , जमिन भित्रबाट बारुदको जस्तो पीरो गन्ध आउने धुँवा लगातार आइरहेको छ,’’ प्रहरी उपरीक्षक खड्काले भन्नुभयो , ‘‘त्यसको कारण के हो भन्ने हामीलाई पनि थाहा भएन, यो हाम्रो क्षेत्राधिकारभन्दा बाहिरको कुरा हो ।’’
हुप्सेकोट ६ का वडाध्यक्ष छम बहादुर सोमै मगरले १५ वर्षअघि पनि यस्तै धुँवा आउने गरेको तर एक डेढ वर्षपछि आफै हराएकोमा फेरि अहिले त्यस्तै समस्या देखिएको वहाँको भनार्इ छ ।
यसरी पिरो गन्ध आउने काम नरोकिएपछि जमिनमुनी ग्यास हुन सक्ने र विष्फोट हुन सक्ने प्रति हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले चिन्ता व्यक्त गर्नुभएको छ । यस समस्याका बारेमा हामीलाई पनि पटक–पटक जानकारी गराइएको थियो तर जाडोमा कुहिरो र हिउँदमा डढेलो लागेको हुन सक्ने भन्दै चुप लागेर बस्यौं, पछिल्लो पटकको अनुगमनले त्यो होइन रहेछ भन्ने पुष्टि भयो,’’ अध्यक्ष पाण्डेले भन्नुभयो ।
त्यस स्थानबाट करिव एक किलोमिटर उत्तरतर्फ पेलेगा गाउँमा ३५ घरधुरीको वसोवास रहेको छ ।
सरकारले अध्ययन टोली पठाउने
प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद राजन गौतमले धुँवा निस्किरहेको कुरालाई असामान्य घटना भएको भन्दै , यसले पार्न सक्ने नकारात्मक प्रभाव प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । वहाँले त्यसको अध्ययन गरी समयमै रोकथाम तथा क्षति न्युनीकरणका लागि तत्काल भूगर्भविद, ग्यास रसायन विज्ञ, विपत् व्यवस्थापन विज्ञसहितको टोली हुप्सेकोट पठाएर अध्ययन गर्नु पर्ने माग गर्नुभयो ।
त्यस लगत्तै सरकारले अध्ययन टोली पठाउने बताएको छ । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेलाई फोन गरेर अध्ययन टोली पठाउने वताउनुभएको हो ।
‘‘मन्त्री पुनले अध्यक्ष पाण्डेलाई गाउँपालिकावाट अध्ययन गर्नका लागि माग गरिएको पत्र र भिडियो फुटेज पठाउन अनुरोध गर्नुभएको छ । सोही अनुसार सवै डकुमेन्ट पठाइसकिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
खानी तथा भूगर्भ विभागले पनि यस विषयमा अध्ययन गरेर मात्र भन्न सकिने बताएको छ । विभागका उपमहानिर्देशक डा गणेशनाथ तिवारीले स्थानीय तहबाट विस्तृत अध्ययनका लागि अनुरोध गरिएमा आफूहरु अध्ययनका लागि आउन तयार भएको बताउनुभयो । लामो समयदेखि एउटै प्रकृतिको घटना भएकाले खानीसँग सम्बन्धित विषय हुन सक्ने डा तिवारीको भनाइ छ ।