कावासोती खानेपानीको २६औँ साधारणसभा सम्पन्न,

कावासोती नवलपुर ,असोज ३१

कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २६औँ साधारणसभा सम्पन्न भएको छ।

संस्थाको सभाहलमा असोज ३० गते शुक्रबार सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष अमृतकुमार श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य राजन गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणसभाको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहा, विन्दु पौडेल, पूर्व सांसदहरू ओमकला गौतम र विष्णुप्रसाद लामिछाने, जिल्ला समन्वय समितिका संयोजक बाबुराम विश्वकर्मा, कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसाललगायत जनप्रतिनिधि, पूर्व अध्यक्ष तथा विभिन्न वडाका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले उपभोक्तालाई स्वच्छ, सुरक्षित, पर्याप्त र सुलभ खानेपानी उपलब्ध गराउन संस्थाले निरन्तर काम गर्नुपर्नेमा जोड दिएका थिए।

साधारणसभामा संस्थाका अध्यक्ष अमृतकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी योजनाहरू प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा गत आर्थिक वर्षको आयव्यय विवरणसमेत सार्वजनिक गरिएको थियो।
संस्थाले आर्थिक वर्ष २०८२÷८३ मा चार करोड ५६ लाख ४५ हजार पाँच सय ४४ रुपैयाँ छ पैसा आम्दानी गरेको विवरण प्रस्तुत गरिएको छ।

यसैगरी, प्रस्तुत विवरणअनुसार विभिन्न शीर्षकमा तीन करोड ७३ लाख ५२ हजार पाँच सय ६९ रुपैयाँ ६९ पैसा खर्च भएको जनाइएको छ। उक्त आर्थिक वर्षमा सञ्चित कोषमा ७७ लाख ६१ हजार चार सय ८० रुपैयाँ ७० पैसा थप भई कुल सञ्चित रकम ११ करोड ३६ लाख ७६ हजार तीन सय ३२ रुपैयाँ ३८ पैसा पुगेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभएको थियो।

साधारणसभाका अवसरमा उत्कृष्ट कर्मचारी तथा नियमित महसुल भुक्तानी गर्ने उपभोक्तालाई सम्मानसमेत गरिएको थियो।

उत्कृष्ट कर्मचारीका रूपमा प्रशासनतर्फ सुरक्षा गार्ड खड्कबहादुर महतो र प्राविधिकतर्फ रामानन्द भण्डारी सम्मानित हुनुभएको छ।

त्यस्तै, समयमै तथा नियमित रूपमा खानेपानी महसुल बुझाउने उपभोक्तामध्ये वडा नम्बर २ बाट दिनेश श्रेष्ठ, वडा नम्बर ३ बाट लोकनाथ पौडेल, वडा नम्बर ५ बाट चन्द्री लुङ्गेली मगर, वडा नम्बर ६ बाट डिला लिलादेवी सापकोटा, वडा नम्बर ८ बाट गीता लामिछाने र वडा नम्बर ९ बाट इन्द्रप्रसाद महतो सम्मानित हुनुभएको छ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मी गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने साधारणसभाको सञ्चालन सचिव रमाकान्त काफ्लेले गर्नुभएको थियो।

साधारणसभामा प्रस्तुत प्रगति विवरण र आगामी योजनाले संस्थाको सेवा विस्तार, खानेपानीको गुणस्तर तथा उपभोक्तालाई नियमित र भरपर्दो सेवा उपलब्ध गराउने विषयमा थप चासो बढाएको छ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.