२९ असार , कावासोती ।
यातायात व्यवस्था कार्यालय कावासोती, नवलपुरले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित परीक्षा अनलाइन प्रणालीबाट लिन सुरु गरेको छ । गत असार २६ का दिन एक कार्यक्रम गरी कार्यालयले अनलाईन परीक्षाको उद्घाटन गरेको हो । कार्यालयले अनलाइनबाट लाइसेन्सको परीक्षा लिन सुरु गरेको देशभरमा यो नै पहिलो पटक भएको बताएको छ ।

नयाँ सफ्टवेर प्रणालीको विकास कार्यालयका कम्प्युटर अपरेटर प्रदिप सापकोटाको एकल प्रयासमा भएको र अन्य आर्थिक तथा भौतिक सहयोग कार्यालयले गरेको कार्यालयका निमित्त प्रमुख टेक बहादुर नेपालीले जानकारी दिनुभयो ।
नयाँ प्रणालीको शुभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले समयसँगै नयाँ प्रविधिको विकास गर्न सकिएकोमा खुशी व्यक्त गर्नुभयो । वहाँले अनलाइनबाट लाइसेन्सको लिखित परीक्षा लिने कावासोती पहिलो कार्यालय भएको उल्लेख गर्नुभयो । अनलाइनबाट लिखित परीक्षा लिन सुरु गरेपछि अव परीक्षा निष्पक्ष हुने र झन्झटिलो नहुने पनि विश्वास समेत व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव नरनाथ शर्माले आगामी आर्थिक वर्षदेखि लिखित परीक्षाको अनलाइन सेवालाई गण्डकी प्रदेशभरी र अन्य प्रदेशमा पनि विस्तार गर्दै लैजाने बताउनुभयो । त्यसका लागि बजेट समेत विनियोजन भइसकेको वहाँको भनार्इ छ ।