मध्यविन्दु प्रादेशिक अष्पतालमा आधुनिक उपकरण सहितको सेवा थप ।

साउन १ , कावासोती ।
नवलपुरको डण्डा स्थित मध्यविन्दु प्रादेशिक अस्पतालले आफ्नो सेवा थप गरेको छ । अस्पतालले शुक्रबारदेखि आधुनिक उपकरणसहितको उपचार सेवाको सुभारम्भ गरी सेवा थप गरेको हो । जस अनुसार अष्पतालमा १० बेडको तीन वटा शल्यक्रिया कक्ष, शल्यक्रिया गरेका बिरामीलाई राख्ने ‘पोष्ट अप केयर युनिट’, विशेष नवजात शिशु स्याहार इकाई र नवजात शिशु सघन उपचार कक्षको शुभारम्भ गरिएको छ ।

अस्पतालले यी सवै सेवा नयाँ भवनबाट प्रवाह गर्ने जनाएको छ । अथक मेहनत र सबैको प्रयासले यो कार्य सफल भएको अस्पतालका प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले बताउनुभयो ।

यस्तै सुधार तथा अस्पताललाई थप सुविधासम्पन्न बनाउने उद्देश्यसहित आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि महत्वाकांक्षी योजना पनि सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत सञ्चालित अस्पतालले सेवा विस्तार, पूर्वाधार विकास र अत्याधुनिक स्वास्थ्य उपकरण खरिदलाई प्राथमिकतामा राख्दै नयाँ कार्यक्रमहरू सार्वजनिक गरिएको जनाइएको छ ।

डा आचार्यका अनुसार हाल १०० शैय्याको स्वीकृति प्राप्त अस्पतालमा वार्षिक रूपमा बिरामीको चाप निरन्तर बढिरहेको छ । बढ्दो सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि नयाँ कार्यक्रम प्रस्ताव गरिएको वहाँको भनार्इ छ ।

अस्पतालमा चिकित्सकको उपलव्धता २४सै घण्टा गराउने उद्देश्यले चिकित्सक आवास गृह निर्माण गर्ने योजना अघि सारिएको छ । यसका लागि करिब ८ करोड रुपियाँ बजेट प्रस्ताव गरिएको छ । त्यस्तै अस्पताल परिसरमा चमेना गृह निर्माण, अस्पताल पुग्ने दुवै पहुँचमार्ग ढलान तथा कालोपत्रे, अस्पताल भवनमा लिफ्ट जडान, प्रयोगशाला सेवा विस्तार गर्ने योजना पनि समावेश गरिएको आचार्यले जानकारी दिनुभयो ।

अस्पतालको सबैभन्दा महत्वपूर्ण योजनामध्ये सीटी स्क्यान मेसिन खरिद पनि रहेको छ । हाल सीटी स्क्यान सेवा लिन बिरामीहरू भरतपुर वा बुटवल जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अस्पतालले आफ्नै परिसरबाट उक्त सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाइएको छ । साथै ट्रमा केयर युनिट विस्तार र डेन्टल पानोरामिक एक्स–रे प्रणाली खरिद गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।

अस्पतालले आगामी आर्थिक वर्षदेखि विपन्न गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउण्ड (युएसजी) सेवा सञ्चालन गर्ने योजना बनाएको छ । यससँगै थाइराइड शल्यक्रिया सेवा ,इएनटी सेवा विस्तारका लागि अडियोलोजी युनिट स्थापना, स्तन उपचार केन्द्र सञ्चालन तथा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) प्रणालीको विस्तारलाई समेत प्राथमिकतामा राखिएको छ ।

अस्पतालले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा अस्पतालबाट सेवा लिने बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको छ । बहिरङ्ग , आकस्मिक सेवा, भर्ना हुने बिरामी, शल्यक्रिया, प्रयोगशाला परीक्षण तथा एक्स–रे सेवामा निरन्तर वृद्धि भएको अस्पतालले जनाएको छ । यसले अस्पतालप्रति नागरिकको विश्वास बढ्दै गएको अस्पताल प्रशासनको दाबी छ ।

हाल अस्पतालमा सरकारी स्वीकृत १०० शैय्या सञ्चालनमा रहेका छन् । तीमध्ये आकस्मिक, मेडिसिन, शल्यक्रिया, अर्थोपेडिक, बालरोग, प्रसूति, आइसोलेसन, फिजियोथेरापी तथा डायलाइसिस सेवाका लागि छुट्टाछुट्टै शैय्या व्यवस्था गरिएको छ ।

२०६४ सालमा १५ शैय्याको सामुदायिक अस्पतालका रूपमा स्थापना भएको मध्यविन्दु अस्पताल संघीयता कार्यान्वयनपछि गण्डकी प्रदेश सरकारअन्तर्गत आएको हो । त्यसपछि अष्पतालले ५० शैय्याबाट स्तरोन्नति हुँदै हाल १०० शैय्याको प्रादेशिक अस्पतालका रूपमा सेवा प्रदान गर्दै आएको छ ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.