मगर आदिकवि रेखबहादुर सारू मगरको ८३औँ जन्मजयन्ती सम्पन्न, वैरागी नाता र रुद्र सन्देश मगर पुरस्कृत ।

भदौ २९, पोखरा
​
मगर भाषा साहित्यका आदिकवि सुबेदार रेखबहादुर सारू मगरको ८३औँ जन्मजयन्ती मनाइएको छ । नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशको आयोजनामा गत भाद्र २८ गते , कास्कीको पोखरा स्थित पृथ्वी नारायण क्याम्पस परिसरमा रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा एक कार्यक्रम गरी सारुको जन्मजयन्ती मनाइएको हो ।

नेपाल मगर लेखक सँघ गण्डकी प्रदेश समितिका अध्यक्ष खड्क पामी आलेको अध्यक्षता एवम गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मगर भाषामा साहित्य सिर्जना गर्ने दुई श्रष्टाहरुलाई पुरस्कृत समेत गरिएको छ । कार्यक्रममा आदिकवि रेख वहादुर सारु मगर साहित्य पुरस्कार २०८२ वाट सर्जकहरु वैरागी नाता मगर र रुद्र सन्देश थापा मगर पुरस्कृत हुनुभएको छ । मगर भाषा र साहित्यको श्रीवृद्धिमा निरन्तर क्रियाशील रहँदै विशिष्ट योगदान पुर्‍याएबापत वहाँहरुलाई जनही रु १० हजार तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो ।
​


कार्यक्रममा आदिकवि रेखबहादुर सारू मगरको जीवनी, व्यक्तित्व र भाषा साहित्यमा वहाँहरुले पुर्‍याउनुभएको योगदानका बारेमा संस्थाका कोषाध्यक्ष पूर्णबहादुर राना मगरले प्रकाश पार्नुभएको थियो भने पुरस्कृत व्यक्तित्वहरूको साहित्यिक परिचय र योगदानबारे नेपाल मगर लेखक सङ्घकी केन्द्रीय सदस्य एवम् साहित्यकार बेलीमाया थापा (गीता) ले जानकारी गराउनुभएको थियो।

​ कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि प्रा.डा. कुसुमाकर न्यौपानेले आदिकवि रेखबहादुर सारू मगरले, मगर भाषा साहित्यको श्रीवृद्धिमा खेल्नुभएको ऐतिहासिक भूमिकाको चर्चा गर्नुभयो । वहाँले मातृभाषाका साहित्य र स्रष्टाको संरक्षणमा गण्डकी प्रज्ञा प्रतिष्ठान सधैँ सकारात्मक रहेको वताउनुहुँदै आगामी दिनमा पनि सहकार्यका लागि तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

​कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति सङ्गीतकार लोक गायक शङ्कर विरही गुरुङ, नेपाल मगर सङ्घका भाषिक उपाध्यक्ष एवम् रेडियो कर्मि हर्क आले मगर, नेपाल मगर सङ्घका पूर्व महासचिव एवं मगर भाषा प्रतिष्ठानका अध्यक्ष अग्रज साहित्यकार, प्राध्यापक लोकबहादुर थापा मगर लगायत गण्डकी प्रदेशका विशिष्ट साहित्यिक एवम् सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

​आयोजक सँस्थाका सचिव ,श्रष्टा भोज विवश खण्डलुक मगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष दीपक सिँजाली मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको समापन गर्नुहुँदै सभाध्यक्ष खड्क बहादुर पामी आले मगरले आदिकविको योगदानको स्मरण गर्दै कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सवैलाई धन्यवाद व्यक्त गर्नुभयो । सङ्गम सांस्कृतिक मञ्च पोखराका कलाकारहरूको साँगीतिक प्रस्तुतिले कार्यक्रमलाई रोचक वनाएको थियो ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.