नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

कावासोती , नवलपुर ।
नवलपुरका व्यवसायी तथा उनीहरूका परिवारले अब चितवनका चार अस्पतालमा सहुलियत दरमा स्वास्थ्य उपचार सेवा पाउने भएका छन्। नवलपुर उद्योग वाणिज्य संघ र मध्यविन्दु उद्योग वाणिज्य संघले भरतपुरस्थित मनकामना अस्पताल र मौलाकालिका अस्पतालसँग सहुलियत उपचारका लागि सम्झौता गरेका हुन्।

सम्झौतापत्रमा नवलपुर उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष बुद्धिसागर पोख्रेल , मध्यविन्दु उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष किरणकुमार श्रेष्ठ, मौलाकालिका अस्पतालका तर्फबाट अस्पताल सञ्चालक समिति सदस्य ईश्वरीप्रसाद पण्डित तथा मनकामना अस्पतालका तर्फबाट दिलीप घिमिरेले हस्ताक्षर गरेका छन्।

यसअघि दुई संघले चितवनस्थित पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजसँग सहुलियत उपचारका लागि सम्झौता गरिसकेका थिए। त्यस्तै, नवलपुरका कावासोती अस्पताल, डण्डा र मिड प्वाइन्ट अस्पतालसँग पनि सहुलियत उपचारका लागि सम्झौता भइसकेको छ।

दुई उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायी, उनीहरूका परिवार तथा कर्मचारीलाई सहुलियतमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले भरतपुरका मनकामना र मौलाकालिका अस्पतालसँग सम्झौता गरेका हुन्।

मनकामना अस्पतालसँग भएको सम्झौताअनुसार उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायी सदस्यले ओपिडी टिकटसहित अस्पताल सेवामा २५ प्रतिशत छुट पाउनेछन्। त्यस्तै, सिटी स्क्यान सेवामा १५ प्रतिशत तथा फार्मेसी सेवामा ५ देखि ७ प्रतिशतसम्म छुट प्रदान गरिने नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धिसागर पोख्रेलले जानकारी दिनुभयो।

उहाँका अनुसार सिटी स्क्यानबाहेक अन्य सबै ल्याब सेवामा पनि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। यसबाट संघमा आबद्ध सदस्य, उनीहरूका परिवार तथा कर्मचारीलाई स्वास्थ्य उपचारमा राहत पुग्ने अपेक्षा गरिएको छ। उक्त सम्झौता २०८८ साल असार मसान्तसम्म कायम रहने जनाइएको छ।

सहुलियत उपचार सेवा लिनका लागि व्यवसायी सम्बन्धित उद्योग वाणिज्य संघमा आबद्ध हुनुपर्ने र संघले उपलब्ध गराएको स्वास्थ्य सहुलियत कार्ड वा परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो।

नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष पोख्रेलका अनुसार हालसम्म नवलपुरका दुई र चितवनका चार अस्पतालसँग सहुलियत उपचारका लागि सम्झौता भइसकेको छ। अस्पतालबाट सहुलियत सेवा लिनका लागि व्यवसाय नवीकरणका क्रममा संघले सदस्यहरूलाई सहुलियत कार्ड उपलब्ध गराउने जनाएको छ। सम्झौता भएको मितिदेखि नै दुवै अस्पतालबाट सहुलियत सेवा लागू गरिएको छ।

यसैबीच, नवलपुर उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरूको एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा समेत गरिसकेको जनाएको छ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.