कावासोती , नवलपुर ।
नवलपुर जिल्लामा पहिलो पटक लगानी सम्मेलन हुने भएको छ। नवलपुर उद्योग वाणिज्य संघको कार्यालयमा शुक्रवार सम्पन्न जिल्लास्थित उद्योग वाणिज्य संघहरू तथा सरोकारवालाहरूको संयुक्त बैठकले ‘प्रथम नवलपुर लगानी सम्मेलन गर्ने निर्णय गरेको हो।
नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेलले सम्मेलनको मिति अझै तय नभए पनि चालु आर्थिक वर्षभित्रै सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको वताउनुभयो । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकमा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसाल, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष डासुराज पोख्रेल, निवर्तमान अध्यक्ष बैकुण्ठप्रसाद अर्याल, देवचुली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रेशम सापकोटा, मध्यविन्दु उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष केदार पराजुली, सहज संस्थाका पूर्वअध्यक्ष करुणसागर सुवेदी लगायत विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

बैठकले साउन ३० गतेभित्र सम्मेलनको अवधारणा तथा प्रस्तावना तयार गर्न पाँच सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको छ। साथै भदौ १५ गतेभित्र स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, गैरसरकारी संस्था तथा निजी क्षेत्रका विभिन्न संघ–संस्थासँग छलफल गर्ने निर्णय भएको मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो।
देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसालले नवलपुर प्राकृतिक सम्पदा, कृषि, पर्यटन, उद्योग तथा व्यापारका दृष्टिले नेपालको अत्यन्त सम्भावनायुक्त जिल्लामध्ये एक भएकोले भारतसँगको सहज व्यापारिक पहुँच, त्रिवेणी भन्सार कार्यालय, पूर्व–पश्चिम राजमार्ग, निर्माणाधीन नारायणगढ–बुटवल सडक, पर्याप्त विद्युत् आपूर्ति तथा लगानीमैत्री वातावरणका कारण जिल्लालाई औद्योगिक विकासको केन्द्रका रूपमा अघि बढाउन लगानी सम्मेलन आवश्यक ठहर गरिएको वताउनुभयो ।
सहज संस्थाका पूर्वअध्यक्ष करुणसागर सुवेदीले जिल्लामा उपलब्ध सम्भावनाअनुसार औद्योगिक लगानी भित्र्याउन, औद्योगिक क्षेत्र विकास गर्न तथा पर्यटन र कृषि प्रशोधन उद्योग विस्तारका लागि लगानी सम्मेलन अपरिहार्य रहेको बताउनुभयो।
बैठकमा सहभागीहरूले सम्मेलनमा सरकारी निकाय, निजी क्षेत्र, वित्तीय संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, पर्यटन व्यवसायी, विकास साझेदार तथा उद्यमीहरूको सहभागिता गराइने जानकारी दिएका छन्। सम्मेलनमार्फत लगानीका अवसरहरूको प्रस्तुतीकरण, नीतिगत संवाद, परियोजना प्रदर्शनी तथा लगानी साझेदारीका आधार निर्माण गरिने विश्वास व्यक्त गरिएको छ।
यसैबीच, बैठकले हरेक शुक्रबार वन्द हुँदै आएको साप्ताहिक बजार खुलाइने भएको छ । आगामी चाडपर्वलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि हरितालिका ठूली एकादशीसम्म शुक्रवार बजार खुला राख्ने निर्णय गरिएको उद्योग वाणिज्य सँघका महासचिव रमेश अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी, बैठकले हाल सुनसरीसहित तराई–मधेशका विभिन्न जिल्लामा देखिएको विषम तथा तनावपूर्ण अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।