३२ औँ विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईयो , नवलपुरको कावासोतीमा आदिवासी चिकित्साशास्त्र र परम्परागत उपचार पद्धतिवारे विमर्श ।

श्रावण २४, कावासोती नवलपुर ।
आइतवार विश्वभर ३२ औँ विश्व आदिवासी दिवस मनाइएको छ । यस अवसरमा नेपालमा पनि सँघीय राजधानी काठमाण्डौँ र विभिन्न जिल्लामा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । यस अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घले राजधानीको खुलामञ्चमा एक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वोल्ने विभिन्न राजनीतिक दलका नेताहरुले संविधान तथा कानुनमा आदिवासीले प्राप्त गरेको अधिकार गुम्ने खतरा रहेको बताएका छन् ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमूख प्रतिपक्षी नेपाली काँग्रेस, संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधनको बहानामा प्राप्त अधिकार पनि खोसिने खतरा रहेको बताउनु भयो । वहाँले धर्मनिरपेक्षता, प्रादेशिक संरचना, समानुपातिक तथा समावेशी व्यबस्था आदिवासीले पाएको उपलव्धीका रुपमा चर्चा गर्दै यसमाथि कार्यकारी निकायको गतिविधिबाट कालो बादल छाएको टिप्पणी गर्नू भयो ।
वहाँले विगतमा राजनीतिक दलले आदिवासी, मधेसी, मुस्लिम, थारु, दलितसँग गरिएको प्रतिबद्धता पुरा गर्न बाँकी रहेको चर्चा गर्नु हुँदै भीडले सिर्जना गरेको भाष्य सधैभरी जायज नहुने तर्क गर्नू भयो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले सरकारबाट सङ्घीय शासन प्रणालीमा प्रहार भइरहेको भन्नुहुँदै यसका विरुद्ध प्रतिवाद गर्न एकताबद्ध हुनुपर्ने बताउनुभयो । वहाँले एमालेसहित, नेपाली कांग्रेस, तत्कालीन माओवादी केन्द्र र मधेसवादी दलको लामो सङ्घर्षबाट देशमा सङ्घीय लोकतन्त्र स्थापना भएको भनाइ राख्नुभयो ।
आयोजक नेपाल आदिवासी जनजाति महासङ्घका संस्थापक महासचिव एवम् राष्ट्रिय सभा सदस्य सुरेश आले मगरले पनि सङ्घीयतामथि प्रहार भइरहेकोले सङ्घर्ष अझै जारी रहेको भनाइ राख्नुभयो ।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उत्पीडित, उपेक्षित एवम् सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्वलाई अझ सुदृढ बनाउनुपर्ने बताउनुभयो ।
उपराष्ट्रपति यादवले समावेशीता केवल नारामा सीमित नभइ राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचको रुपमा देखिनुपर्ने भनाई राख्नु भयो ।
वहाँले शिक्षा, स्वास्थ्य, रोजगारी तथा निर्णय प्रक्रियाका हरेक तहमा आदिवासी जनजाति लगायत सम्पुर्ण उत्पीडित, उपेक्षित, सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्वलाई अझ सुदृढ गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नवलपुरमा फरक कार्यक्रम ।
यसैवीच ३२ औँ विश्व आदिवासी दिवसको अवसरमा नवलपरासी व.सु.पू. को कावसोतीमा भने एक फरक कार्यक्रम सम्पन्न गरिएको छ । समता सँस्कृति नामक सँस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न समुदायका धामी झाँक्रीहरुद्वारा परम्परागत रुपमा अभ्यास गरिँदै आएको चिकित्सा शास्त्र र उपचार पद्धतिका वारेमा विचार विमर्श गरिएको थियो ।

समाजसेवी देवीसरा पुलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थारु जातिका गुरौ कमलराज गुरौ , तामाङ् झाँक्री आश वहादुर गोले ,मगर वापा फणिन्द्र थापा मगर लगायतले परम्परागत चिकित्साशास्त्र र उपचार पद्धतिका वारेमा विमर्श गर्नुभएको थियो । कार्यक्रममा तमु ह्युल छोँज धीँ गुरुङ् राष्ट्रिय परिषद नवलपुरका अध्यक्ष जगतकाजी गुरुङ्,नेपाल मगर सँघ नवलपुर सचिव टक वहादुर ढेँगा, थारु कल्याणकारी सभा नवलपुर सचिव दुर्गेश चौधरी, नेपाल आदिवासी जनजाति महासँघ नवलपुरका जिल्ला सदस्य विष्णु वहादुर तामाङ् लगायतले मन्तव्य राख्नुभएको थियो । आदिवासी जनजातिको आफ्नै छुट्टै प्रकारको आदिवासी ज्ञान , चिकित्साशास्त्र र परम्परागत उपचार पद्धति रहेको र त्यसको सँरक्षण र जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समता सँस्कृति सँस्थाका सँस्थापक एवम आदिवासी जनजाति महासँघ नवलपुरका निवर्तमान अध्यक्ष राम वहादुर व्लोन तामाङ्ले वताउनुभयो । कार्यक्रमको सहजीकरण पनि राम वहादुर व्लोन तामाङ्ले नै गर्नुभएको थियो । कार्यक्रममा आदिवासी जनजाति अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.