पोखरा, असार २५ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको २४ औँ स्थापना दिवसको अवसरमा सहकारी पुनर्जागरण चुनौतीलाई अवसरमा बदल्ने रणनीति, कानुनी परिवर्तन र समाधानको योजना विषयक प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ । गण्डकी प्रदेशको पोखरास्थित दिपसागर होटलमा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका जिल्ला सहकारी संघका अध्यक्षहरु सहकारी संस्थाका प्रतिनिधि, सहकारी अभियन्ता तथा सरोकारवाला गरी करिब ९० जनाको सहभागिता रहेको थियो।
राष्ट्रिय सहकारी बैंक लिमिटेडकी सञ्चालक सदस्य श्रीमती कमला देवी गिरिको सभाध्यक्षता र गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय भीमबहादुर कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा सहकारी क्षेत्रको वर्तमान अवस्था, कानुनी सुधार तथा आगामी कार्यदिशाका विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रमको प्रारम्भमा राष्ट्रिय सहकारी बैंक लिमिटेडकी सञ्चालक सदस्य कमला देवी गिरीले सहभागीहरुलाई स्वागत गर्दै स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो। वहाँले सहकारी क्षेत्रलाई वर्तमान चुनौतीबाट माथि उठाई पुनर्जागरणको दिशामा अघि बढाउन सबै सरोकारवालाबीच समन्वय, सुशासन र सदस्यकेन्द्रित सेवा आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा बचत तथा ऋणतर्फ नवलपुर जिल्लाकै उत्कृष्ट सहकारी संस्थाका रूपमा सम्मानित आदिवासी जनजाति उत्थान सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड, कावासोती–२ का अध्यक्ष श्री थामबहादुर गाहा ले आफ्नो संस्थाको स्थापना, उद्देश्य, सेवा विस्तार, सुशासनको अभ्यास तथा हालसम्मको सफल यात्राबारे प्रस्तुति दिनुभएको थियो।
त्यसैगरी, दुग्ध व्यवसायतर्फ उत्कृष्ट सहकारी संस्थाका रूपमा सम्मानित बागलुङ जिल्लाको सहकारी संस्थाका प्रतिनिधिले आफ्नो संस्थाको स्थापना, कृषि तथा दुग्ध उत्पादनमा आधारित सहकारी अभ्यास, उपलब्धि तथा सफलताको अनुभव सहभागीमाझ प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार श्री रामनारायण ढकालले सहकारीसम्बन्धी नीति, ऐन, नियमावली, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा कानुनी व्यवस्थाको प्रभावकारी पालनाबारे विस्तृत प्रस्तुति दिनुभएको थियो।
त्यसैगरी राष्ट्रिय सहकारी बैंक लिमिटेडका श्री रुक्मांगत श्रेष्ठले बैंकले सञ्चालन गरिरहेका सेवा, आगामी योजनाहरू तथा सहकारी क्षेत्रलाई अझ प्रभावकारी बनाउन भविष्यमा नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयहरूबारे जानकारी गराउनुभएको थियो।
गोष्ठीमा सहभागी विभिन्न सहकारी संघ–संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले राष्ट्रिय सहकारी बैंकको २४ औँ स्थापना दिवसको शुभकामना व्यक्त गर्दै सहकारी क्षेत्र सुधारका लागि आफ्ना सुझाव तथा धारणा राखेका थिए।
कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय भीमबहादुर कार्की ले गोष्ठीमा उठेका जिज्ञासा तथा सुझावहरूको जवाफ दिँदै सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो। सहकारीसम्बन्धी नीति तथा कानुन संशोधन गर्नुपर्ने अवस्था आएमा संघीय कानुनसँग नबाझिने तथा सहकारी सञ्चालनमा कुनै प्रतिकूल असर नपर्ने गरी व्यवहारिक सुझाव प्राप्त भए आफूले आवश्यक पहल र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष श्री कमला देवी गिरीले सम्पूर्ण अतिथि, वक्ता तथा सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै सहकारी क्षेत्रको दिगो विकासका लागि यस्ता अन्तरक्रिया र गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।