१४ असार , कावासोती नवलपुर ।
नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चौथो साधारण सभा आइतबार सम्पन्न भएको छ। साधारण सभाले शाखाको वार्षिक प्रगति,आगामी कार्यदिशा तथा संगठनात्मक विषयमा छलफल गर्दै विभिन्न प्रतिवेदन पारित गरेको छ ।

महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले लोकतन्त्रको आधार नै स्वतन्त्र प्रेस भएकाले त्यसलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताउनुभयो। वहाँले सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने नीतिहरू अन्ततः नागरिकको सूचना पाउने अधिकारमाथिको हस्तक्षेप हुने उल्लेख गर्नुहुँदै प्रेस स्वतन्त्रताको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो ।

साधारण सभाले आर्थिक प्रतिवेदन, सचिवको संगठनात्मक प्रतिवेदन तथा अध्यक्षको प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । सोही कार्यक्रममा नवलपुर क्षेत्रवाट पत्रकारीता गरिरहनुभएका पत्रकारहरुलाई पुरस्कृत समेत गरिएको छ । महासंघ नवलपुर शाखाले प्रदान गर्दै आएको क्रियाशील पत्रकारिता पुरस्कार–२०८३ बाट विजय एफएम गैँडाकोटका स्टेशन म्यानेजर श्रीधर शर्मालाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी, स्वर्गीय कृष्णलाल पराजुली स्मृति पत्रकारिता पुरस्कार–२०८३ नेपाल टेलिभिजनका सवंददाता धनु भुसाललाई प्रदान गरिएको छ। महासंघका निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुलीले आफ्ना स्वर्गीय पिता कृष्णलाल पराजुलीको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार अन्तर्गत भुसाललाई प्रदान गरिएको हो।
यस्तै, भीमकुमारी–ढुण्डिराज पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका सँवाददाता बोमलाल गिरी सम्मानित हुनुभएको छ । पत्रकार सागर पोख्रेलले आफ्ना माता–पिताको नाममा स्थापना गर्नुभएको उक्त पुरस्कार गिरीलाई प्रदान गरिएको हो।
यसै अवसरमा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पूरा गरेको अवसरमा महासंघका निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुलीलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य केबी राना, प्रदेश अध्यक्ष रमेश पौडेल, प्रदेश संस्थापक अध्यक्ष नारायण शर्मा, प्रमुख जिल्ला अधिकारी जगदीश उपाध्याय, निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुली, पूर्व अध्यक्ष होमराज रानाभाट, सल्लाहकार घनश्याम बगाले, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेल, नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटा, प्रेस चौतारी नेपाल नवलपुरका अध्यक्ष तीर्थ डुम्रे तथा प्रेस संगठन नेपाल नवलपुरका अध्यक्ष प्रीतम भुजेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।