असार १० , नवलपुर ।
नवलपुरको मध्यविन्दु नगरपालिले आगामी आर्थिक वर्षका लागि १ अर्व ३ करोड वरावरको वजेट सार्वजनिक गरेको छ । १९औँ नगर अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि उक्त परिमाणको वजेट सार्वजनिक गरिएको हो । कार्यक्रममा नगर प्रमुख भिमलाल अधिकारी ले १४९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख पूर्णकला चौधरी ले बजेट पेश गर्नुभएको हो।

प्रस्तुत बजेटमा चालु तथा प्रशासनिक खर्चतर्फ ६५ करोड २० लाख १२ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ३७ करोड ९६ लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ। सामाजिक विकासका लागि ४४ करोड १२ लाख ६१ हजार रुपैयाँ, पूर्वाधार विकासका लागि ३५ करोड ८८ लाख ७४ हजार रुपैयाँ, आर्थिक विकासका लागि ४ करोड ४२ लाख ३२ हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ४ लाख ३० हजार रुपैयाँ तथा सुशासन र संस्थागत विकासका लागि १६ करोड ६८ लाख ७४ हजार रुपैयाँ छुट्याइएको छ।
नगर प्रमुख अधिकारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, ‘गर्भदेखि अन्तिम यात्रासम्म’ नागरिकसँग जोडिने बृहत् जनमुखी अभियान सञ्चालन गर्ने तथा मध्यविन्दुका उत्पादनको बजारीकरण र उद्यमशीलता प्रवर्द्धन गर्ने विषय समेटिएको छ।

त्यसैगरी ‘नगरमै रोजगारी, समृद्धिको मूल आधार’ भन्ने संकल्पका साथ स्थानीयस्तरमा रोजगारीका अवसर वृद्धि गर्ने, सबै वडा तथा नगरपालिकाका सेवाहरूलाई अनलाइन प्रणालीमा आबद्ध गर्ने, उच्चगतिको डिजिटल पूर्वाधार निर्माण गर्दै नागरिकमैत्री ई–गभर्नेन्स विस्तार गर्ने तथा ‘हाम्रो खुशी’ पाठ्यक्रमलाई संस्थागत र दिगो बनाउने नीति अघि सारिएको छ।
बजेट तथा नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सडक स्तरोन्नति, खानेपानी, सिंचाइ, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ। नगरपालिकाले आगामी वर्ष विकास निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै समृद्ध मध्यविन्दु निर्माणको आधार तयार गर्ने लक्ष्य लिएको जनाएको छ।