कावासोती नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि ९९ करोड १० लाख वरावरको वजेट सार्वजनिक ।

असार ९, कावासोती नवलपुर ।
नवलपुरको कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ९९ करोड १० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। असार ९ मँगलवारका दिन नगरपालिकाको सभाहलमा आयोजित नगरसभा तथा १९औँ अधिवेशनमा उपप्रमुख फुलकुमारी थनेतले बजेट प्रस्तुत गर्नुभएको हो।

उपप्रमुख थनेतले प्रस्तुत गर्नुभएको बजेट अनुसार नगरपालिकाले आगामी आर्थिक वर्षमा ९९ करोड १० लाख रुपैयाँ आय प्राप्त हुने अनुमान गरिएको छ। अनुमानित आयमध्ये नगरपालिकाको आन्तरिक स्रोतबाट ७ करोड ५० लाख, नेपाल सरकारको वित्तीय समानीकरण अनुदानबाट १७ करोड २६ लाख, संघीय राजस्व बाँडफाँडबाट १५ करोड ४० लाख, सशर्त अनुदानबाट ४२ करोड ३३ लाख, विशेष अनुदानबाट २ करोड ९० लाख, समपूरक अनुदानबाट ६० लाखभन्दा बढी, सवारी साधन करबाट २ करोड २६ लाख, घरजग्गा रजिस्ट्रेशन शुल्कबाट ४ करोड, नदीजन्य पदार्थ बिक्रीबाट प्राप्त राजस्व बाँडफाँडबाट ३ करोड ९१ लाख तथा लागत सहभागिताबाट १ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

व्ययतर्फ प्रशासनिक खर्चका लागि २२ करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै मर्मत सम्भार कोषमा ९० लाख, समपूरक कोषमा २ करोड, विपद् व्यवस्थापन कोषमा ९० लाख, नगरस्तरीय योजना तथा कार्यक्रममा १३ करोड ७८ लाख, वडास्तरीय योजना तथा कार्यक्रममा १२ करोड ९२ लाख तथा सशर्त अनुदानतर्फ ४२ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ। विशेष तथा समपूरक अनुदान र जनसहभागितामार्फत सञ्चालन हुने कार्यक्रमका लागि समेत बजेट छुट्याइएको छ।

नगरसभामा नगरप्रमुख विष्णु भुसालले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नगरप्रमुख भुसालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रको उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुनिश्चितता, कृषकको आयआर्जनमा सुधार तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिइएको छ। साथै रेबिजजस्ता जुनोटिक रोगको नियन्त्रणका लागि सामुदायिक छाडा कुकुरहरूको व्यवस्थापन, बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।

शिक्षातर्फ विद्यालय व्यवस्थापन सुधार, प्रधानाध्यापक तथा शिक्षकहरूको आवश्यकतानुसार सरुवा र परिचालन, ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रमलाई निरन्तरता दिने नीति लिइएको छ। स्वास्थ्य क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै गुणस्तरीय, सर्वसुलभ, पहुँचयोग्य र नागरिकमैत्री स्वास्थ्य सेवा प्रवाहमा जोड दिइने नगरप्रमुख भुसालले बताउनुभयो।

नगरपालिकाले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै ‘स्वस्थ नागरिक, समृद्ध कावासोती’ को लक्ष्य हासिल गर्ने अपेक्षा गरिएको छ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.