जेष्ठ ७, कावासोती नवलपुर ।
जिल्ला हुलाक कार्यालय, नवलपुरले घरघरमै राहदानी पु¥याउने सेवाको सुभारम्भ गरेको छ । कार्यालयको टिमले कावासोती–१६, पिप्रेनी निवासी अमित परियारको राहदानी घरमै पुगेर हस्तान्तरण गरी सेवाको औपचारिक सुभारम्भ गरेको हो । हुलाक अधिकृत ठानेश्वर सापकोटाले अमितकी आमा विमला परियारलाई राहदानी हस्तान्तरण गर्नुभएको थियो ।

यो सेवासँगै राहदानी लिन सदरमुकाम वा सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीय सेवाग्राहीहरू उत्साहित बनेका छन्।
जिल्ला हुलाक कार्यालयका अनुसार हुलाक सेवामार्फत राहदानी घरमै प्राप्त गर्ने सेवाप्रति जिल्लावासीको आकर्षण दिनानुदिन बढ्दै गएको छ। यसले हुलाक सेवाप्रतिको जनविश्वास र विश्वसनीयता थप मजबुत हुने विश्वास गरिएको छ।
नागरिकमैत्री तथा प्रभावकारी यो सेवाको सुरुवातसँगै स्थानीय तहमा सेवा प्रवाह थप सहज र पहुँचयोग्य बनेको अपेक्षा गरिएको छ। घरघरमै राहदानी सेवा प्रदान गर्ने सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय वीच गत वैशाख २४ गते समझदारी गरिएको थियो ।