जेष्ठ २६ , कावासोती नवलपुर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी निर्वाचित हुनुभएको छ । सहमति जुट्न नसकेपछि नेतृत्व चयनका लागि भएको निर्वाचनवाट भण्डारी सभापतिमा निर्वाचित हुनुभएको हो । मंगलबार बिहान सकिएको मतगणना अनुसार निकटतम प्रतिद्वन्दी गोकुल सापकोटालाई तीन मतले पराजित गर्दै भण्डारी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
सोमबार भएको निर्वाचनमा सभापतिका लागि तीन जनाबीच कडा प्रतिष्पर्धा भएको थियो । भण्डारीले १४२ मत प्राप्त गरी निर्वाचित हुँदा सापकोटाले १३९ मत प्राप्त गर्नुभो । त्यस्तै कृष्णप्रसाद शर्माले १३६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपसभापतिमा जगबहादुर राना, सचिवमा विष्णु कँडेल, सहसचिवमा सन्त बहादुर ठाडा मगर निर्वाचित हुनुभएको छ । कुल ७५६ मतदाता रहेकोमा ४३३ अर्थात ५७ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।