२४ जेष्ठ , कावासोती नवलपुर ।
नवलपुरको कावासोतीमा आयोजित मगर अक्खा लिपि र मगर भाषा शव्द सँकलन कार्यक्रम सकिएको छ । नेपाल मगर सँघ कावासोती नगर समितिद्वारा गत जेष्ठ १७ देखि आयोजित एक हप्ते तालिमको २३ गते शनिवार समापन भएको हो । समापन कार्यक्रममा आयोजक नेपाल मगर सँघ कावासोती नगर समितिकि अध्यक्ष सुनमाया थापा मगरको अध्यक्षता रहेको थियो भने मगर भाषा लेखक तथा साहित्यकर्मी लिला मास्की राना प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि लिला मास्की रानाले मगर भाषा साहित्य सँरक्षण र सँवद्र्धनमा यस्ता तालिमहरुले महत्वपूर्ण भुमिका खेल्न सक्ने वताउनुभयो । वहाँले भाषा जानेर मात्र होईन दैनिक जीवनमा प्रयोग भएमा मात्र वाँच्न सक्ने वताउनुभयो । भाषा , लिपि र सँस्कार वाँचेमात्र जातिको अस्तित्व रहने वहाँको तर्क थियो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि समाजसेवी कर्णेल धन वहादुर मास्की रानाले छोटो अवधिका यस्ता तालिमहरुवाट थोरै मात्रामा उपलव्धि हुने भएतापनि अपेक्षा गरेअनुसार उपलव्धिमूलक नहुने वताउनुभयो । आर्थिक अभावका कारण छोटो अवधिका तालिम उपलव्धिमूलक नहुने वताउनुहुँदै वहाँले तालिमलाई केही समय भएपनि लम्व्याउने हेतुले आफुले आर्थिक सहयोग प्रदान गरेको वताउनुभयो ।

त्यसैगरी प्रशिक्षक महेन्द्र थापा मगरले भौतिक सम्पति भन्दा भाषा सँस्कार र सँस्कृति धेरै महत्वपूर्ण हुने वताउनुभयो । मगर भाषालाई समृद्ध वनाउनु प्रत्येक मगर मगर्नीको दायित्व भएकोले मगर भाषा शव्दकोषका लागि सम्पूर्ण मगर समुदायवाट सहयोगको अपेक्षा गर्नुभयो ।
आयोजक नेपाल मगर सँघ कावासोेती नगर समितिका अध्यक्ष सुनमाया थापा मगरले कार्यक्रम सफल पार्न योगदान दिनुहुने सवैलाई धन्यवाद व्यक्त गर्नुभयो । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्नुभयो ।

कावासोती ३ स्थित मगर वौद्ध गुम्वाको सभाहलमा सम्पन्न कार्यक्रममा समाजसेवी नर वहादुर ठाडा मगरको विशेष आतिथ्यता रहेको थियो भने समाजसेवी कर्णेल धन वहादुर मास्की, गिरमान गाहा लगायतको विशेष आतिथ्यता रहेको थियो । करिव ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको कार्यक्रममा भाषाविदहरु महेन्द्र थापा मगर र तिल थापा मगरले सहजीकरण गर्नुभएको थियो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । तालिममा सहभागीहरु मध्ये अञ्जना राना मगर प्रथम , रिनु पाटा मगर दोस्रो हुनुभएको छ भने तेस्रो स्थान रुममाया थापा मगर र चौथो स्थान राममाया सारुले प्राप्त गर्नुभएको थियो । तालिम सञ्चालनका लागि समाजसेवी कर्णेल धन वहादुर मास्कीले रु ५० हजार आर्थिक सहयोग गर्नुभएको थियो ।