वैशाख १८, कावासोती नवलपुर ।
२५७० औँ बुद्ध जयन्तीको अवसरमा नवलपुरको कावासोतीमा विविध कार्यक्रम सम्पन्न भएका छन् ।
यस अवसरमा कावासोती ५ स्थित तमु मिलन घरमा कुसुण्डा घाँटु नृत्य सम्पन्न भएको छ । कार्यक्रमको तमु तमुस्योँ ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद कावासोती नगर समितिले आयोजना गरेको थियो ।
कार्यक्रममा गुरुङ समुदायका विभिन्न समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै वुद्ध जयन्तीकै अवसरमा कावासोती १ बुद्धचोक स्थित ज्याङ्देर छोईलिङ गुम्बामा वुद्ध मुर्तिको प्रतिस्थापन गरिएको छ । मुर्ति प्रतिस्थापन अघि शान्ति ¥याली समेत सम्पन्न भएको छ । कार्यक्रममा गुम्बा व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र मुक्तानको अध्यक्षता रहेको थियो भने लामा राम वहादुर गोलेको प्रमुख आतिथ्यता रहेको थियो । गुम्बाका प्रमुख लामा अक्कल बहादुर रुम्बा को नेतृत्वमा भएको ¥यालीमा स्थानीय भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो।

त्यसैगरी कावासोती १ मै रहेको रिठ्ठेपानी वौद्ध गुम्वा विहारमा पनि वुद्धजयन्तीको अवसरमा शान्ति पुजा सम्पन्न भएको छ । विहार व्यवस्थापन समितिका अध्यक्ष वल वहादुर गाहाको नेतृत्वमा वौद्ध वापा जग वहादुर सोती मगर लगायतले शान्ति पुजा गराउनुभएको थियो । यसैवीच वुद्धजयन्तीको अवसरमा नेपाल मगर सँघ कावासोती वडा इकाई समितिले रिठ्ठेपानी वौद्ध गुम्वा विहारको प्राँगणमा खुला भलिवल प्रतियोगीता सम्पन्न गरेको छ भने मगर साँस्कृतिक घर कुण्डल्या इम , घुमाउने घरको समुद्घाटन समेत सम्पन्न गरेको छ । कार्यक्रममा समितिका अध्यक्ष सीमा कानुङ् मगरको अध्यक्षता रहेको थियो भने, कार्यवाहक वडाध्यक्ष ओम वहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।