बैशाख १७ , नवलपुर ।
नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेतको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले बाग्लुङको गल्कोट नगरपालिका–९ का ३१ वर्षीय संजय विकलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ परेका विक यसअघि विभिन्न ज्यान मुद्धामा संलग्न रही भदौ २४ गते जेन्जी आन्दोलनमा फरार भएको खुलेको छ । उनले गत चैत २३ गते बिहान देवचुलीका थनेत र उहाँकी ७१ वर्षीया गुलबसनीया थनेतलाई घरमै आक्रमण गरी गरगहना लुटेर भागेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
आक्रमणबाट श्रीमानको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा उसैदिन मृत्यु भएको थियो भने श्रीमतीको सोही अस्पतालमा अहिले पनि उपचार भइरहेको छ । घटनाको लामो समयसम्म पनि दोषी पत्ता लगाउन प्रहरी असफल भएको भनेर आलोचना भइरहेका बेला सीआइबीले विकलाई २५ दिनपछि काठमाडौंको सुकेधाराबाट पक्राउ गर्न सफल भएको हो । प्रहरीले दोषी पत्ता लगाउन नसकेको भन्दै प्रतिनिधि सभामा समेत आवाज उठेको थियो ।
वि।क।विरुद्ध यसअघि २०७२ असारमा जिल्ला प्रहरी कार्यालय कास्कीमा चोरी मुद्धा दर्ता भएको, २०८० मंसिर ५ गते एक महिलाको हत्या गरी लुटपाट गरेको घटनामा वडा प्रहरी कार्यालय बैदाम कास्कीमा ज्यान सम्बन्धि कसुर र डाँका मुद्धामा अनुसन्धान पश्चात २०८१ साउन २९ गतेदेखि पुर्पक्षका लागि कास्की कारागारमा रहेकोमा जेनजी आन्दोलनका क्रममा भागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।
सीआइबीले विकको साथबाट तीन लाख ७५ हजार नगद, विभिन्न ब्राण्डका तीन थान मोवाइल सेट, नेपाल टेलिकमका ४ थान सिम र एनसेलका चार थान सिम बरामद गरेको पण्डितले जानकारी दिनुभयो ।