कावासोती, भाद्र १२
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा पहिरोका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नवलपुरको मध्यविन्दु नगरपालिकाले दुःख व्यक्त गर्दै बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोगको घोषणा गरेको छ।
मध्यविन्दु नगरपालिकाले प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
साथै, बाढीबाट घाइते तथा प्रभावित भएका नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनर्स्थापना र सहज जनजीवनको कामना गर्दै घर, सम्पत्ति तथा आयआर्जनको आधार गुमाएका परिवारप्रति नगरपालिकाले सहानुभूति प्रकट गरेको छ।
यस दुःखद् घडीमा नेपाल सरकारद्वारा सञ्चालन भइरहेको उद्धार, राहत तथा पुनर्स्थापनाको अभियानप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको पीडामा साथ दिने प्रतिबद्धता मध्यविन्दु नगरपालिकाले जनाएको छ।
नगरपालिकाको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मध्यविन्दु नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराइने भएको छ।
त्यस्तै, जनप्रतिनिधिहरूको तर्फबाट ४ लाख रुपैयाँ र नगरपालिकाका कर्मचारीहरूको तर्फबाट ६ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ।
यसरी बाढीपीडितका लागि मध्यविन्दु नगरपालिका परिवारबाट जम्मा १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराइने भएको हो।
मध्यविन्दु नगरपालिकाले विपद्को यस कठिन परिस्थितिमा मानवीय संवेदना, सहयोग र सहकार्य नै प्रभावित परिवारका लागि ठूलो भरोसा बन्न सक्ने जनाएको छ।
त्यसैगरी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग, सहकार्य र सद्भाव प्रदर्शन गर्न सम्पूर्ण मध्यविन्दु नगरवासीमा नगरपालिकाले हार्दिक अपिल समेत गरेको छ।
प्राकृतिक विपद्ले निम्त्याएको यो दुःखद् परिस्थितिमा पीडित परिवारलाई सहयोग गर्नु हामी सबैको साझा मानवीय दायित्व हो, नगरपालिकाले अपिलमा भनेको छ ।
मध्यविन्दु नगरपालिकाको यो सहयोग र अपिलले विपदमा परेका नागरिकको उद्धार तथा पुनर्स्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राहत र उद्धारका लागि मध्यविन्दु नगरपालिकाले घोषणा ग¥यो आर्थिक सहयोग