भारतमा मेडिकल प्रवेश परीक्षा निटको पेपर बाहिरिएको प्रकरणलाई लिएर शुरु भएको विद्यार्थी आन्दोलनको समर्थनमा केन्द्रीय राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा २६ दिनदेखि आमरण अनशनमा बसेका चर्चित सामाजिक अभियन्ता सोनम वाङचुकले अन्ततः विहीवार अनशन तोडेका छन् । भारतका केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंह, साथै लद्दाख एपेक्स बडीका प्रतिनिधिहरूको उपस्थितिमा उनले अनशन अन्त्य गरेको बीबीसी हिन्दीले जनाएको छ ।
देशमा सम्भावित हिंसा रोक्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अनशन अन्त्य गरेको उनको भनाइ छ । अनशन तोड्दै उनले आन्दोलनकारी र सर्वसाधारणलाई कुनै पनि प्रकारको हिंसामा नउत्रिन आग्रह गरेका छन् । भारत सरकारसँग भएका सहमति र सर्तबारे भने उनले छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने समेत बताएका छन् ।
शैक्षिक सुधारको माग गर्दै विद्यार्थी संगठनहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् । उनीहरूले परीक्षाको विश्वसनीयता कायम गर्न, दोषीमाथि कडा कारबाही गर्न, परीक्षा प्रणालीमा सुधार तथा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग दोहोर्याइरहेका छन् ।
पछिल्लो केही दिनयता दिल्लीमा प्रदर्शन, धर्ना र विरोधसभाहरू चलिरहेका छन् । आन्दोलनको आगामी दिशा सरकार र आन्दोलनकारीबीच हुने थप वार्ताको परिणाममा निर्भर हुने अनुमान छ ।
आन्दोलनलाई देशव्यापी बनाउन कक्रोच जनता पार्टी (सीजेपी) ले शुक्रवार भारतभर शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेको छ ।