विवाद उत्पन्न भएपछि हटाईयो मास्टर्नी गीत ।

निर्माणाधीन चलचित्र मास्टर्नी’ को प्रमोशनल गीतका कारण विवाद उत्पन्न भएपछि अभिनेत्री प्रियङ्का कार्की र गायक दुर्गेश थापाले सार्वजनिक रूपमा माफी माग्दै उक्त गीत सबै प्लेटफर्मबाट हटाएका छन् ।

शिक्षण पेसा र शिक्षकहरूको मानमर्दन हुने खालका शब्द र दृश्यहरू समावेश गरिएको भन्दै चौतर्फी आलोचना र शिक्षक महासंघको विरोधपछि दुवै कलाकारले सामाजिक सञ्जालमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।

अभिनेत्री तथा चलचित्रकी निर्मात्री प्रियङ्का कार्कीले उक्त गीत चलचित्रको कथावस्तुको हिस्सा नभई विशुद्ध प्रचारप्रसारका लागि मात्र बनाइएको स्पष्ट पारेकी छिन् ।

उनी भन्छिन्, उक्त गीतमा प्रयोग भएका केही शब्द र दृश्यले सम्मानित शिक्षण पेसा र यससँग जोडिएका आदरणीय व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भनी आएका गुनासाहरूलाई मैले अत्यन्तै गम्भीरतापूर्वक लिएकी छु।

आफ्नो पहिलो निर्माण प्रयासमा कसैको आस्था वा सम्मानमा ठेस पुर्‍याउने नियत नरहेको बताउँदै उनले अन्जानमा हुन गएको गल्तीप्रति नेपाल शिक्षक महासंघ र सम्पूर्ण गुरुवर्गसँग क्षमायाचना गरेकी छिन् ।

उनले उक्त गीत युट्युब र आफ्ना सबै सामाजिक सञ्जालबाट हटाइसकिएको जानकारी दिँदै आगामी दिनमा विषयवस्तु छनोटमा थप सचेत रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।

त्यसैगरी, गायक दुर्गेश थापाले पनि गीतका शब्द र प्रस्तुतीकरणका कारण शिक्षक र दर्शकको भावनामा ठेस पुगेको स्वीकार गरेका छन् ।

उनले फेसबुकमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, हाम्रो उद्देश्य कुनै पनि पेसा वा व्यक्तिको भावनामा चोट पुर्‍याउने कदापि थिएन । तर, प्राप्त सुझाव र आलोचनालाई आत्मसात् गर्दै मैले आफ्नो युट्युब च्यानलबाट उक्त गीत आधिकारिक रूपमा हटाइसकेको छु।

थापाले शिक्षकहरू समाजका मार्गदर्शक र सम्मानका पात्र भएको उल्लेख गर्दै आगामी दिनमा अझ जिम्मेवार र उत्कृष्ट सिर्जना लिएर आउने वाचा गरेका छन् ।

By बुद्धदर्शन टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.