जेष्ठ १६, कावासोती नवलपुर ।
नेपाल आदिवासी जनजाति महासँघ वडा इकाई समन्वय परिषद कावासोती १ को आयोजनामा सञ्चालित वुटिक तालिमको समापन भएको छ । गत जेष्ठ १ देखि शुरु भएको तालिमको १५ गते शुक्रवारका दिन एक कार्यक्रम गरी समापन गरिएको हो । समापन कार्यक्रममा महासँघ वडा समन्वय समितिकी अध्यक्ष चलमती रानाको अध्यक्षता रहेको थियो भने नेपाल आदिवासी जनजाति महासँघ जिल्ला समन्वय परिषद नवलपुरका सचिव मदन कुमाल प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा कावासोती १ का कार्यवाहक वडाध्यक्ष ओम वहादुर थापा मगर विशिष्ट अतिथि रहनुभएको थियो भने , महासँघ नगर समन्वय परिषद कावासोतीका अध्यक्ष हिरालाल गुरौ , वडा नँ १ का जनप्रतिनिधि रेखा सुनार, सीमा कानुङ् , पुर्ण वहादुर चितौरेको विशेष आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासँघ नवलपुरका सचिव मदन कुमालले आदिवासी जनजातिहरु स्वभावैले सीपयुक्त भएका तर उजागर गर्ने वातावरणको अभाव मात्र भएको वताउनुभयो ।
वहाँले आदिवासी समुदायमा भएको परम्परागत सीपको जगेर्ना गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि कावासोती १ का कार्यवाहक वडाध्यक्ष ओम वहादुर थापाले , मानिसको जीवनमा सीपको अति ठुलोे महत्व रहेको वताउनुभयो ।
सीपयुक्त मानिस समाजमा प्रतिष्ठित भएर जीवनयापन गर्न सक्ने वहाँले वताउनुभयो । साथै सीप जानेर मात्र नहुने त्यसलाई व्यवहारिक रुप दिनुपर्नेमा वहाँको जोड थियो ।

त्यस्तै आयोजक नेपाल आदिवासी जनजाति महासँघ वडा इकाई समन्वय परिषद कावासोती १ का अध्यक्ष चलमती रानाले तालिम आयोजना गर्नका लागि आर्थिक सहयोग प्रदान गर्ने कावासोती नगरपालिका वडा १ को कार्यालयलाई धन्यवाद दिनुभयो भने , अन्य विभिन्न तरिकाले सहयोग पु¥याउने सँघ सँस्थाहरुलाई पनि धन्यवाद व्यक्त गर्नुभयो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिम अत्यन्त फलदायी भएको वताए । समापन कार्यक्रममा विभिन्न सँघ सँस्था तथा टोल विकास सँस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कावासोती १ स्थित सेनचेन छोइलिङ् गुम्वाको सभाहलमा सञ्चालन भएको तालिममा ३५ जना प्रशिक्षार्थीहरुले वुटिक तालिम लिएका थिए भने तालिममा आरती वाचे मगर प्रशिक्षक रहनुभएको थियो ।
