वैशाख १६ , कावासोती ।
नवलपुरमा , चुनढुङगा लोड गरिएको टिप्पर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–वडा नँ ५ खाम्चास्थित भित्री सडकखण्डमा सर्बोत्तम सिमेन्टको खानीदेखि पश्चिम परासीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ख ८७२१ नम्बरको टिप्पर अनियन्त्रित भई सडकबाट अन्दाजी ७० मिटर तल खसेर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा टिप्पर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका वस्ने ४७ वर्षीय बाबुराज भट्टराई, पाल्पा माथागढी गाउँपालिका–७ मटेरीका ३५ वर्षीय कुल बहादुर ढेँगा र बिनयी त्रिवेणी–५ चिडीयाका २६ वर्षीय टोप बहादुर राना घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।
घाइतेहरुलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि चितवनको भरतपुर पठाइएको पण्डितले बताउनुभयो ।