कावासोती , वैशाख ९ ।
नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले अहिले नै पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने बेला नआएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, नवलपुर शाखाले कावासोतीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले यस्तो बताउभएको हो ।
‘‘चुनावमा पार्टी पराजय हुनुका धेरै कारण छन्, त्यसको हामी समीक्षा गरिरहेका छौं, समीक्षापछि को कति जिम्मेवार छ भनेर पहिचान गरेपछि पार्टी पुनर्गठन हुन सक्छ ।’’ ज्ञवालीले भन्नुभयो । व्यक्तिलाई फेरेर मात्र पार्टी पुनर्गठन नहुने भन्दै वहाँले समीक्षापछि मात्र नेतृत्व परिवर्तन हुन सक्ने वताउनुभयो ।

चुनावमा एमालेलाई पराजित गर्न आन्तरिक र बाह्य कारण मुख्य रहेको वहाँले वताउनुभयो । केही बाह्य शक्तिहरुले भूमिका निर्वाह गरे, उनीहरुका गतिविधि र प्रयास मुख्य जिम्मेवार छन्,’’ ज्ञवालीले भन्नुभयो , ‘‘जनताको बीचमा जान नसक्नु, युवाहरुलाई विश्वास दिलाउन नसक्नु र जनताबाट टाढा हुँदा पार्टीसँग देखिएको ग्याप आन्तरिक कारण रहेका छन् ।’’
अर्को प्रसंगमा नेता ज्ञवालीले तत्काल बाम एकता वा नेपाली कम्युनिष्ट पार्टीसँग पार्टी एकता सम्भव नरहेको बताउनुभयो । ‘‘तत्काल पार्टी एकता सम्भव छैन, एकताका बारेमा छलफल पनि भएको छैन,’’ ज्ञवालीले भन्नुभयो , ‘‘यदि कसैले त्यसरी हल्ला चलाएको छ भने त्यो सत्य होइन ।’’ अहिले पार्टी कमजोर अवस्थामा रहेकाले पहिले पार्टीलाई बलियो बनाएपछि मात्र पार्टी एकता वा वाम एकताका बारेमा छलफल गर्न सकिने वहाँको भनाई छ ।