कावासोती खानेपानी तथा सरसरफाई उपभोक्ता सँस्थाले मनायो रजत जयन्ती, रजत जयन्ती अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न ।

वैशाख २८ , कावासोती नवलपुर ।
कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था ले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा विभिन्न कार्यक्रम गरी रजत जयन्ती २०८३ सम्पन्न गरेको छ। आइतबार संस्थाको सभाहलमा आयोजित समारोहमा संस्थाका अध्यक्ष दिपकराज लम्सालको अध्यक्षता तथा कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसाल को प्रमुख आतिथ्यता रहेको थियो ।

रजत जयन्ती अन्तर्गत वैशाख २५ गते खानेपानी कार्यालय परिसर वरपर सरसफाइ अभियान सञ्चालन गरिएको थियो भने वैशाख २६ गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो। शिविरमा विशेषज्ञ चिकित्सकसहितको टोलीले सर्वसाधारणको स्वास्थ्य परीक्षण गरेको संस्थाले जनाएको छ।

त्यसैगरी वैशाख २७ गते रजत स्तम्भ अनावरण गर्नुका साथै संस्थाको स्थापनाकालदेखि २०८२ सालसम्म योगदान पुर्‍याउने विभिन्न समिति तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष दिपकराज लम्सालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले खानेपानी तथा सरसफाइ क्षेत्रमा पुर्‍याएको योगदानबारे जानकारी गराउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विष्णु प्रसाद भुसालले कावासोती खानेपानीको स्थापना र विकासले कावासोती क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। वहाँले कावासोती खानेपानीको स्थापना भएकै कारण कावासोती क्षेत्रमा यति बाक्लो बस्ती रहेको र कावासोती क्षेत्र जिल्लाकै सदरमुकामका रुपमा विकास हुन सम्भव भएको उल्लेख गर्दै संस्थाले गरेको कार्यको प्रशंसा गर्नुभयो।

रजत जयन्तीको अवसरमा खानेपानी उपभोक्ता महिला समूहहरूको सहभागितामा शोभायात्रा समेत आयोजना गरिएको थियो। शोभायात्रामा कावासोती टोल विकास संस्था अन्तर्गत महाकालेश्वर पुष्पाञ्जली कृषक समूह प्रथम, शिवशक्ति टोल विकास संस्था अन्तर्गत प्रगतिशील आमा समूह द्वितीय, संघर्षशील महिला समूह तृतीय, प्रगति टोल विकास संस्था चौथो तथा जनकल्याण टोल विकास संस्था पाँचौं भएका थिए।

त्यसैगरी अन्तरविद्यालयस्तरीय कविता तथा निबन्ध प्रतियोगिता पनि आयोजना गरिएको थियो। कविता प्रतियोगितामा सिद्धार्थ बोर्डिङ स्कूल की पूजा शर्मा चापागाईं प्रथम, श्री शिव माध्यमिक विद्यालय की एन्जल रेग्मी द्वितीय तथा श्री ज्ञानोदय माध्यमिक विद्यालय की श्रेया रिजाल तृतीय भएका थिए ।

निबन्ध प्रतियोगितामा सिद्धार्थ बोर्डिङकी सिम्रन महतो प्रथम, श्री ज्ञानोदय माध्यमिक विद्यालयकी ग्रिस्मा चापागाईं द्वितीय तथा श्री शान्ति निकुञ्ज विद्यालय की समृद्धि काफ्ले तृतीय हुन सफल भएका थिए ।

By budhadarshan tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.