करिब ३० हजार वर्षदेखि चोभारबाट पानी बाहिर जान शुरु भयो । क्रमशः चोभारको डाँडो खिइँदै गयो । यही क्रम चलिरहँदा करिब १२ हजार वर्षअघि अहिलेको अवस्थामा आइपुग्यो । चोभार डाँडोलाई मञ्जुश्रीले खड्ग वा श्रीकृष्णको खड्गबाट चिरेर पानी निकास भएको भन्नु विज्ञानलाई पुराणले विस्थापन गर्नु हो ।

कात्तिकको चौथो शनिबार । चोभारस्थित जलविनायक मन्दिर नजिकै बागमती किनारमा एक वृद्ध घाम तापिरहेका थिए । अनायासै उनलाई जलविनायक मन्दिर कति पुरानो हो भनेर सोधें । उनले मलाई एकछिन पुलुक्क हेरे र निधार खुम्च्याउँदै ‘धेरै पुरानो हो । उहिले भगवान मञ्जुश्रीले त्यो चोभार डाँडो खड्गले काटेर पानी बाहिर पठाएपछि नै यो मन्दिर बनेको हो’ भने ।
उनको कुरा सुनेपछि करिब ४५/४६ वर्षअघि कक्षा–८ को पाठ्यपुस्तकमा मञ्जुश्रीले चोभार डाँडो खड्गले काटेर काठमाडौं उपत्यकाको पानी बाहिर निकास दिलाएको किंवदन्ती सम्झन पुगें । पछि कतै श्रीकृष्णले सुदर्शन चक्रले त्यही डाँडो काटेको कथा पनि पढेको थिएँ ।