कावासोती , नवलपुर
चैत्र २१
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समिति नवलपुरले नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर तेस्रो नवलपुर महोत्सव गर्ने भएको छ । आगामी चैत २६ देखि बैशाख ७ गतेसम्म हुने तेस्रो नवलपुर महो्त्सवमा आदिवासी जनजातिको सँस्कृति, पर्यटन, खाना तथा व्यापारिक स्टल रहने शनिवार आयोजित पत्रकार सम्मेलनमा गराइएको हो ।

कावासोती–२ भाट्टोला स्थित नवदुर्गा रंगशालामा हुने महोत्सव आदिवासी जनजाति समुदायको संस्कार, संस्कृति भेषभुषा, रहनसहन, खाना लगायत विषय वस्तुलाई प्रचार प्रसार गर्ने उद्देश्य राखिएको महासंघ नवलपुर अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कोभिडपछि सुस्ताउँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षाले महोत्सव आयोजना गरिएको श्रेष्ठले बताउनुभयो । महोत्सवमा दुई सयभन्दा बढी व्यापारिक स्टल, होटल तथा सचेनामूलक स्टल रहने बताइएको छ ।

महोत्सवमा आदिवासी जनजातिका मौलिक घरहरु, संस्कार, संस्कृतीसँग जोडिएका स्टलहरु तथा खानाका स्टल पनि राखिनेछ भने साढे दुईलाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । महोत्सव अवलोकनका लागि विद्यार्थीका लागि २० प्रतिशत छुट र जेष्ठ नागरिकका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुती तथा विभिन्न खेलकुद र मनोरञ्जनका सामग्रीहरु पनि राखिएको आयोजकको भनाइ छ । महासंघ जिल्ला समन्वय परिसद्ले महोत्सवको आयोजना गरेको भएपनि जिल्ला भित्रका सबै आदिवासी जनजाति समुदाय र यहाँ रहेका १० जातीय संगठनहरुको समेत आयोजनामा हुने वहाँले वताउनुभयो ।