आज माघ १ गते । यस दिनलाई विभिन्न समुदायले फरक फरक तरिका र महत्वका साथ पर्वका रुपमा मनाउने गर्दछन् । मगर समुदायले भने मगर माघे सकराटि पर्वका रुपमा धुमधामले मनाउने गर्दछन् । मगर माघे सकराटि पर्वको अवसरमा काठमाण्डौँको टुँडिखेलमा भव्य कार्यक्रम हुने भएको छ । नेपाल मगर सँघ केन्द्रिय समिति र मगरजन्य संघसंस्थाहरुको आयोजनामा माघेसकराटि मेलाको आयोजना गरिएको हो ।
मगर माघे सकराटी शुभकामना आदान प्रदान तथा मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको प्रधानमन्त्री शुशिला कार्कीले समुद्घाटन गर्नुहुने नेपाल मगर संघ केन्द्रिय समितिका महासचिव टेक नाम्जाली मगरले जानकारी दिनुभएको छ ।

नेपाल तथा विश्वभरि छरिएर रहेका मगर समुदायले चेली, पितृ तथा प्रकृति पुजेर साथै पछिल्लो समय विभिन्न कार्यक्रमहरुको आयोजना गरेर यस पर्वलाई मनाउने गर्दछन् ।
मगरात ऐतिहासिक सभ्यताको जगमा विकसित मगर समुदायको प्रमुख साँस्कृतिक चाड माघे सकराटि–२०८२ लाई “मगरात सभ्यता र पहिचान दस्तावेजिकरणको दशक बनाऔैं, गरौं मगर हुनुमा गर्व, प्रकृति–कुलपित्र–चेली पूजाको मूल साँस्कृतिक चाडको रुपमा मनाऔं माघे सकराती पर्व ।।” भन्ने मूलनाराका साथ मनाउन लागिएको छ ।
कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक भेषभुषा, मौलिक खानपिनको प्रर्दशनी साथैतारो हान्ने प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता र भलिबल प्रतियोगिता पनि आयोजना गरिने भएको छ ।