यतिबेला कर्मचारीको दिनचर्या हाजिर गर्ने र बस्ने जस्तै भएको छ । न कुनै नयाँ योजना अघि बढेका छन्, न पुराना कार्यले प्राथमिकता पाउन सकेका छन् ।

८ मंसिर, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलन अघिसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा राम्रै चहलपहल हुन्थ्यो । मन्त्रीदेखि कर्मचारीलाई भेट्न आउने आगन्तुकदेखि कूटनीतिक नियोगबाट समेत चहलपहल बढ्दो थियो ।
तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारी सामान्यतया बिहान १० बजे मन्त्रालय पुगिसकेका हुन्थे । सचिव तथा अन्य कर्मचारीसँग आवश्यक ब्रिफिङ लिन्थे र नयाँ–नयाँ योजना अघि बढाउँदै श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा गर्न सकिने सुधारका पाटाबारे अनेक उपाय लगाइरहेका हुन्थे । तर, अहिले दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि मन्त्रालय सुनसान छ ।