पाल्पाको निस्दी गाउँपालिका–४, मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा परी घाइते भएका मध्ये उपचारको क्रममा थप एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको सँख्या ४ पुगेको हो ।

प्रहरीका अनुसार नवलपुर मध्यविन्दु –१३ का ३४ वर्षीय सुन्दर वि.क. को उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा मृत्यु भएको छ ।
त्यस्तै, शुक्रबार पाल्पा निस्दी गाउँपालिका–४, ठोक्सिङबासका ४५ वर्षीय ओम कुमारी खाम्चा, निस्दी–७ हुवासका ३६ वर्षीय हेम कुमारी सारु र नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३१ वर्षीय बुद्धी माया वि.क. को घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।

जिप सडकबाट एक हजार एक सय मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।