जेनजी प्रदर्शनमा तिब्बती युवाहरूले टीओबीको व्यानरमा भाग लिएका थिए । बीआरआई चीनको प्रभाव विस्तार गर्ने माध्यम हो भने दलाई लामा फ्याक्टर चीनको स्वशासित क्षेत्र तिब्बतको सुरक्षा र सार्वभौमसत्तासँग जोडिएको प्रश्न ।

नेपालमा चीन र अमेरिका बीचको प्रतिस्पर्धा नेकपा (नेपाल कम्युनिस्ट पार्टी) ले सरकारको नेतृत्व गरेको समयमा उत्कर्षमा पुगेको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी पास हुन नदिएको आरोप तत्कालीन प्रधानमन्त्री केपी ओलीले लगाएका थिए । याद गरौं त्यसबेला उनीहरू एउटै पार्टीभित्र थिए ।
बलात्कार अभियोग खेपेसँगै सभामुख महराले राजीनामा दिएका थिए । पछि उनी गिरफ्तार समेत भए । त्यसै बेलामा एमसीसीको चरम विवादले नेकपा ध्रुवीकरण हुँदै विभाजनको सँघारमा पुगेको थियो ।
नेकपाभित्र बीआरआईको समर्थन र एमसीसीको आलोचना एकैपल्ट जस्तो भएको थियो । यद्यपि नेकपा विभाजनमा अरू फ्याक्टरहरू पनि छन् । र, यता चीनसँग असाध्यै निकट मानिएका महरा पटक–पटक भ्रष्टाचारको मुद्दामा छानबिनमा परिरहेका छन् । महराका आफ्नै गतिविधि, अनि त्यसमा हुने स्वाभाविक अनुसन्धान आफ्ना ठाउँमा छन्, तर सँगसँगै गणतान्त्रिक नेपालमा चीन र अमेरिका बीच एमसीसी प्रकरणमा देखिएको यो प्रतिस्पर्धालाई पहिलो अध्याय मान्न सकिन्छ ।
यस अवधिमा संसदबाट एमसीसी पास हुनुअघि चीन र अमेरिका बीच जुहारी नै चल्यो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी पास नभए चीनको दबाबमा रोकिएको ठान्ने जनाउ दिंदै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी प्रचण्डलाई दबाब दिएको सार्वजनिक हुनासाथ चीनको प्रतिक्रिया झन् कडा रूपमा आएको थियो । चीनले त्यसलाई अमेरिकाको बलजफ्ती कूटनीति भन्दै एमसीसी सम्झौतालाई ‘प्यान्डोराको बाकस’को उपमा दियो । एमसीसीको सन्दर्भमा चीनले गत २०२२ को फेब्रुअरीको १० दिनभित्र चारपटक प्रतिक्रिया दिएको थियो ।