राज्यले सिधै बस खरिद गरेर चलाउने भन्ने हैन, निजी र राज्यको लगानी गरी सार्वजनिक यातायात प्राधिकरण वा कम्पनी मार्फत स्थानीय निकायहरूको क्लस्टर बनाएर व्यवस्थापन गर्ने राम्रो उपाय हो।

अहिलेको जेनजी पुस्ता मोटरसाइकल र निजी सवारी साधनप्रति बढी आकर्षित भएको देखिन्छ। सार्वजनिक यातायात प्रयोग गर्न नपरोस् भन्ने चाहना उनीहरूमा स्पष्ट रूपमा बुझ्न सकिन्छ।
अब, सबै क्षेत्रमा सुधार आवश्यक छ। सुधारको थालनी यातायात क्षेत्रबाट गरौं, जहाँ यसको अत्यधिक आवश्यकता छ। मुख्यतया, जेनजीको चाहना देशमा विकास र सुशासन नै हो। यी दुवैका लागि यातायात प्रणालीमा सुधार अपरिहार्य छ।
सरकारले पछिल्लो केही वर्षदेखि सडक चौडा, अन्डरपास, ओभरपास, फ्लाइओभर र सुरुङ मार्गको सुधार र विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। राजधानी तथा अन्य शहरहरूका सडकमा ठूला संरचनाहरू भत्काएर समेत सडक संरचनामा व्यापक सुधार ल्याउने प्रयास गरिएको छ। यो कार्यले यातायात क्षेत्रमा केही सुधार त ल्याएको छ, तर जुन रूपमा यातायात व्यवस्थापन र सडक सुरक्षा हुनुपर्ने हो, त्यसमा थप सुधार आवश्यक छ।
उपत्यका साथै लामो दूरीका सार्वजनिक यातायातको अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको छ। बढ्दो सवारीसाधन तथा यात्रुको संख्या, कमजोर पूर्वाधार, सडक प्रयोगकर्ताको लापरबाही, ट्राफिक व्यवस्थापन वैज्ञानिक तरिकाले हुन नसक्नु आदि कारणले राजधानीको यातायातको अवस्था दयनीय छ। मुख्य कुरा, सार्वजनिक यातायात व्यवस्थित नहुँदा समग्र यातायात प्रणाली नै नाजुक बनेको छ। लामो दूरीको यातायातमा भने सडक संरचना निर्माण भइरहने, पहिरो जाने, खाल्डाखुल्डी हुने समस्या छन्।